काठमाडौं । चुनावी माहोल तातिँदै जाँदा शीर्ष राजनीतिक नेताबीच सार्वजनिक बहसको विषयले नयाँ तरंग ल्याएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका आकांक्षी सबै नेताबीच खुला बहस हुनुपर्ने प्रस्ताव अघि सारेपछि त्यसमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले कडा असहमति जनाएका छन्।
झापा–५ बाट ओलीसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले ओलीसँग एउटै मञ्च साझा गर्न अस्वीकार गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो अडान सार्वजनिक गरेका हुन्। उनले यस्तो बहसमा सहभागी हुनु नै ‘गलत सन्देश’ जाने दाबी गरेका छन्।
ओलीको प्रस्ताव : ‘एजेन्डा र विगतको काममा खुला बहस गरौं’
अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत देश बनाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने शक्तिबीच प्रतिस्पर्धा भइरहेको टिप्पणी गर्दै आफू सार्वजनिक बहसका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए।
उनले देशको नेतृत्व गर्न चाहने दल र नेताहरूले विगतमा गरेका काम, वर्तमान एजेन्डा र भविष्यको रोडम्याप जनतामाझ स्पष्ट पार्न खुला बहस उपयोगी हुने तर्क गरेका छन्।
ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर प्रत्यक्ष प्रश्न–उत्तर हुने बहस आयोजना गर्न आयोजकहरूलाई आग्रहसमेत गरेका छन्।
बालेनको जवाफ : ‘एउटै मञ्चमा उभिन सक्दिनँ’
ओलीको उक्त प्रस्ताव सार्वजनिक भएपछि बालेन शाहले तीव्र प्रतिक्रिया दिएका छन्। उनले ओलीको पोस्टमै टिप्पणी गर्दै यस्तो बहसमा सहभागी नहुने स्पष्ट घोषणा गरे।
बालेनले आफूलाई ‘देश जलाउने शक्ति’को रूपमा चित्रण गरिएकोमा आपत्ति जनाउँदै विगतका घटनालाई स्मरण गराएका छन्।
उनले लेखेका छन्,
“७६ जना बालबालिकाको हत्यासँग जोडिएका व्यक्तिहरू र तिनका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसैको हिस्सेदार भएको बुझिनेछ। त्यो मेरो लागि स्वीकार्य छैन।”
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। कतिपयले बालेनको अडानलाई नैतिक साहसको रूपमा व्याख्या गरेका छन् भने केहीले प्रतिस्पर्धामा उत्रिएपछि खुला बहसबाट पछि हट्नु अनुचित भएको टिप्पणी गरेका छन्।
राजनीतिक बहस कि नैतिक दूरी ?
ओलीको प्रस्तावले ‘पब्लिक डिबेट’ लाई चुनावी एजेन्डाको केन्द्रमा ल्याए पनि बालेनको अस्वीकारले बहसको स्वरूप नै प्रश्नको घेरामा परेको छ।
यो विषय अब केवल बहसमा बस्ने वा नबस्नेमा सीमित नभई, राजनीति र नैतिकताको सीमारेखा कहाँ कोर्नु भन्ने गहिरो प्रश्नतर्फ मोडिएको देखिन्छ।
चुनाव नजिकिँदै गर्दा ओली–बालेनबीचको यो टकरावले आगामी दिनमा राजनीतिक विमर्श अझ चर्किने संकेत दिएको छ।