काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन्। तेस्रो कार्यकालका लागि अध्यक्ष केपी शर्मा ओली पनि चुनावी मैदानमा उत्रिन लागेका छन्, जसले महाधिवेशनलाई दुई प्यानलबीचको प्रत्यक्ष प्रतिस्पर्धामुखी बनाएको छ। महाधिवेशन मंसिर २७ देखि २९ गते काठमाडौंमा हुँदैछ।
पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने तयारी थालेका छन्। उनी पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन्। बिन्दा पाण्डे पनि पोखरेल पक्षबाट सचिवमा उम्मेदवारी दिने तयारीमा छिन्। उपाध्यक्षमा सुरेन्द्र पाण्डे र महासचिवमा गोकर्ण बिष्ट वा योगेश भट्टराईमध्ये एकलाई अघि सार्ने योजना छ।
अर्कोतर्फ, अध्यक्ष ओलीको प्यानलमा उपाध्यक्षमा विष्णु पौडेल दोहोरिने पक्का जस्तै छ। महासचिवमा प्रदीप ज्ञवाली दाबेदार छन्। यदि शंकर पोखरेल पुनः महासचिव नबने उनी उपाध्यक्षमा जाने र ज्ञवाली महासचिव बन्ने सम्भावना रहेको एमाले स्रोतहरू बताउँछन्। उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवको आकांक्षा राखेका छन्। विष्णु रिमालले भने उपाध्यक्ष पदमा रुचि देखाएका छन्।
माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ र सचिव लेखराज भट्टको भूमिकालाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने देखिन्छ। विधानअनुसार एक महिला उपमहासचिवदेखि सचिवसम्म समावेश गर्नुपर्ने भएकाले पद्मा अर्यालको नाम प्रबल रूपमा अगाडि आएको छ। सचिवका आकांक्षीमा भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराई छन्।
संस्थापन–इतर समूहबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अध्यक्ष पदमा आकांक्षी थिइन्। तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नवीकरण रोकिदिएपछि भण्डारी पक्षले पोखरेललाई समर्थन गर्दै अघि सारेको हो। पोखरेलले आफ्नो उम्मेदवारीलाई स्वस्थ प्रतिस्पर्धाको रूपमा व्याख्या गरेका छन्। ओलीले पनि नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्।
गत भदौमा सम्पन्न विधान महाधिवेशनले कार्यकारी पदमा दुई कार्यकालको सीमा र ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान हटाएपछि ओलीलाई तेस्रो कार्यकालका लागि बाटो खुलेको हो। सोही विधानले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै पदाधिकारी संख्या १९ बाट घटाएर १५ पुर्याएको छ। अब अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी गठन हुने व्यवस्था छ। स्थायी कमिटी हटाइएपछि पदाधिकारी नै स्थायी कमिटीको रूपमा रहनेछन्।
महाधिवेशन नजिकिँदै जाँदा दुवै प्यानलले आन्तरिक गृहकार्य तीव्र बनाएका छन्। नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धाले पार्टीभित्र नयाँ शक्ति–सन्तुलन बन्ने देखिन्छ।