कैलाली। छठ पूजा सेवा समिति, धनगढीले हरेक वर्ष झँै यस वर्ष पनि धनगढी उपमहानगरपालिका–२ स्थित मोहना घाटमा छठ घाटमा पूजाको तयारी पूरा गरेको छ ।
लामो समयदेखि मोहना घाटमा छठ पूजा कार्यक्रम आयोजना गरिँदै आएको छ । सूर्य भगवान्को पूजा आराधना गरी मनाइने छठ पर्वमा पूजा गर्न आउने भक्तालुजनका लागि मोहना घाटमा २५६ पूजाकक्ष निर्माण गरिएका छन् । ती कक्षलाई रङ्गीचङ्गी ध्वजापताका लगायतले सजाएर आकर्षक बनाइएको छठ पूजा सेवा समितिका उपाध्यक्ष रोशनकुमार कर्णले राससलाई जानकारी दिनुभयो । पूजास्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।
धनगढी बजारका मुख्य स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गरेर सजाउने काम सकिएको छ ।
मोहना नदी तटीय भागमा पण्डाल निर्माण गरिएको छ । यहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उपाध्यक्ष कर्णले बताउनुभयो । पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, सांस्कृतिक झाँकीलगायत प्रस्तुत गरिने छ ।
छठपर्वमा परिवारका सदस्यहरुको दीर्घायु जीवन, सुख, शान्ति आदिका लागि भक्तालु व्रर्त बस्ने गर्दछन् । छठपर्व आउनुभन्दा एक महिना अघिदेखि नै मोहना नदी तटको सरसफाइ गरिएको थियो ।