काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान अघि बढाइएको छ । सभापति शेरबहादुर देउवाले असोज २६ गते केन्द्रीय समिति बैठक बोलाएका बेला संस्थापनइतर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने तयारी गरेका हुन् ।
पार्टी विधानअनुसार विशेष महाधिवेशन दुई तरिकाले हुन सक्छ– केन्द्रीय समितिले निर्णय गर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गर्ने। १४ औं महाधिवेशनमा चुनिएका ४ हजार ७४३ प्रतिनिधिमध्ये १ हजार ८९८ जनाको हस्ताक्षर आवश्यक छ।
विशेष महाधिवेशनको अभियान असोज ६ गतेदेखि सुरु भएको हो। शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट नेताहरु यस अभियानमा सक्रिय छन्। उनीहरुका दाबीअनुसार आवश्यक ४० प्रतिशत हस्ताक्षर पुगिसकेको छ र सहजै ६०–६५ प्रतिशतसम्म पुर्याउन सकिने अवस्था छ।
संस्थापनइतर नेताहरुका अनुसार देउवा पक्षका केही प्रतिनिधिले समेत हस्ताक्षर गरेका छन्। विधानअनुसार लिखित माग पुगेको खण्डमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने व्यवस्था छ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको माग चर्किँदै गएको छ। यही सन्दर्भमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आज भेट गरी आगामी रणनीतिबारे छलफल हुने भएको छ।