Logout

चर्चामा

एमाले केन्द्रीय कमिटी बैठक असोज २७–२८ मा, राष्ट्रिय महाधिवेशनबारे निर्णय हुने सम्भावना

1.7k Shares

काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बुधबार गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीको एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक बस्नेछ । उनले भने, “सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौँ । यसबारे निर्णय केन्द्रीय कमिटीले लिन सक्छ।”

ज्ञवालीले जेनजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको जानकारी दिए । साथै आन्दोलनका दोषी, तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन बैठकले माग गरेको उनले बताए ।

भदौ २३ र २४ गतेका घटनाबारे छानबिन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गरेको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले उल्लेख गरे । ज्ञवालीले यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर गरिएको निर्णयले आयोगको विश्वसनीयतामाथि प्रश्न खडा भएको टिप्पणी गरे ।

उनले सरकार राजनीतिक दललाई बाइपास गर्ने र संवाद नगर्ने प्रवृत्ति देखिएको भन्दै आलोचना गरे । “सरकारले राजनीतिक दललाई पन्छाउन मात्रै होइन, सम्पर्क र संवादमै रोक लगाएको छ । यी सबै घटनाप्रति हामी गम्भीर र चिन्तित छौँ,” ज्ञवालीले भने ।

उनका अनुसार सरकारले प्रहरीलाई दोषी पक्राउ नगर्न निर्देशन दिएको तथ्यले नेपाल प्रहरीको अपराध अनुसन्धान अधिकारमा हस्तक्षेप गरेको छ र यसले दोषीहरूको मनोबल बढाएको छ ।

ज्ञवालीले कतिपय नेताहरूलाई भौतिक आक्रमणको धम्की दिइएको दाबी गर्दै यसले सरकारको नियत स्पष्ट बनाएको बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “कतिपय व्यक्तिहरू पुराना राजनीतिक दललाई चुनावमा जानै दिन्नौँ भन्दैछन् । यस्तो अवस्थामा हुने चुनावले के वैधता पाउँछ ?”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार