काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको स्पष्ट पारेका छन्। पार्टीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा नभएको तर पदमा टाँसिरहन पनि नचाहेको बताएका छन्।
प्रचण्डले विगतमा जनयुद्ध, जनआन्दोलन र समुदायका संघर्षमार्फत सामन्तवादमाथि विजय हासिल भए पनि वैदेशिक प्रतिक्रियावाद र दलाल पुँजीवादमाथि अझै विजय हासिल गर्न नसकेको प्रष्ट्याए।
नेतृत्व बहसको सन्दर्भमा उनले भने, “आन्दोलनबाट निष्क्रिय हुने मेरो स्वभाव होइन। तर पदलोलुप पनि होइन।” उनले पार्टीको अध्यक्ष पद आफूले मागेर नभई परिस्थितिले जिम्मेवारी थोपरेको स्मरण गर्दै २०४६ सालको जनआन्दोलनदेखि गणतन्त्रसम्मको यात्रा उल्लेख गरे।
नेतृत्व हस्तान्तरणका विषयमा प्रचण्डले वैज्ञानिक विधि र प्रक्रियाबाट मात्र सम्भव हुने बताए। उनले भनाइ थप्दै भने, “कतिपयलाई लाग्छ म पदमा बसिराख्न वातावरण बनाइरहेको छु कि भन्ने। तर परिस्थितिले मागे अनुसार नेतृत्व हस्तान्तरण हुन्छ।”
उनले हालैको जेन–जि आन्दोलनले उठाएका प्रश्न गम्भीर रहेको उल्लेख गर्दै जनतामा इमान्दार नेताप्रतिको अपेक्षा अधुरो रहँदा दलप्रति वितृष्णा बढेको बताए। त्यही अवसरलाई अन्तर्राष्ट्रिय शक्तिहरूले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि षडयन्त्रका रूपमा प्रयोग गरिरहेको उनले आरोप लगाए।
पार्टीलाई अझ सुदृढ एकतामा बाँध्दै नयाँ विचार र अभियानमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै प्रचण्डले राष्ट्रिय स्वाधीनता यति ठूलो संकटमा परेको इतिहासमै नदेखिएको टिप्पणी गरे।
बैठकमा उनले पदाधिकारीसहित केन्द्रीय समितिलाई अस्थायी रूपमा स्थगित गरी आयोजक समितिमा लैजाने प्रस्ताव समेत प्रस्तुत गरेका छन्। यसले माओवादी केन्द्र अरुभन्दा फरक रहेको सन्देश जाने र नेतृत्व हस्तान्तरणको प्रक्रियागत यात्रा सुनिश्चित हुने उनको भनाइ छ।