Logout

चर्चामा

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रूसको ड्रोन आक्रमण, ३ को मृत्यु

836 Shares

खार्किभ  (एजेन्सी) । रूसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ । जसमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । २१ जना घाइते भएको मेयर इहोर टेरेखोभले जानकारी दिएका छन् ।

शुक्रबार राति गरिएको यो आक्रमणलाई उनले ‘खुला आतंक’ को संज्ञा दिएका छन् । रूसले ४८ वटा ड्रोन, दुई मिसाइल र चारवटा ग्लाइड बम खार्किभमा प्रहार गरेको थियो । यसअघि बिहीबार राति पनि युक्रेनभरि विशाल ड्रोन र मिसाइल आक्रमण भएको थियो । रूसले ती आक्रमणलाई युक्रेनी सेनाले आइतबार रूसी वायुसेनाका चार ठूला हवाई बेसमाथि गरेको ड्रोन आक्रमणको जवाफको रूपमा व्याख्या गरेको छ । 

शुक्रबार रातिको आक्रमणमा खार्किभका १८ वटा अपार्टमेन्ट भवन र १३ वटा अन्य घरहरूमा क्षति पुगेको छ । घाइतेमा एक साना बालक र १४ वर्षीया बालिका पनि छन् ।खार्किभ बाहेक युक्रेनको दक्षिणी सहर खेरसोनमा गरिएको रूसी आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहाले यस्ता आक्रमणलाई मध्यनजर गर्दै आफ्ना मित्रराष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन र युक्रेनलाई अझ मजबुत बनाउन आग्रह गरेका छन् । बिहीबार रातिको आक्रमणमा ६ जनाको ज्यान गएको र ८० भन्दा बढी घाइते भएको थिए । रूसले ४०० भन्दा बढी ड्रोन र लगभग ४० वटा मिसाइल प्रयोग गरेको थियो ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई ‘सहरहरू र सामान्य जनजीवन माथिको ठूलो प्रहार’ भनेका छन् । राजधानी किभदेखि लिएर चेरनिहिभ, लुत्स्क र टर्नोपिलसम्म आक्रमण गरिएको छ । रूसले ती क्षेत्रमा सैन्य ठेगाना लक्षित गरिएको दाबी गरेको छ ।

यसैबीच, हालै टर्कीको इस्तानबुलमा सम्पन्न वार्तामा रूस र युक्रेनले बिरामी तथा गम्भीर घाइते बन्दीहरू, २५ वर्षभन्दा कम उमेरका सैनिक र १२ हजार जना मृत सैनिकको शव साटासाट गर्ने सहमति गरेका थिए । रूसी वार्ताकार भ्लादिमिर मेदिन्स्कीले युक्रेनले शव तथा बन्दी साटासाट ‘अनिश्चितकालका लागि ढिलो पारेको’ आरोप लगाए । तर, युक्रेनी पक्षका अधिकारी पेत्रो याट्सेन्कोले यो आरोप असत्य भएको र साटासाट अर्को साता हुने गरी पुनः तय गरिएको जानकारी दिए । युक्रेनी अधिकारीहरूले रूसले सहमति विपरीत ‘फटाहा प्रवृत्ति’ देखाएको र साटासाटको नियमहरू पालना नगरेको आरोप लगाए ।

साटासाटको निश्चित मिति सार्वजनिक गरिएको छैन । रूसी पक्षले १ हजार भन्दा बढी युक्रेनी सैनिकका शव साटासाटका लागि ल्याइसकेको भए पनि युक्रेनी अधिकारी नआएको दाबी गरेको छ । साथै, ६ सय ४० बन्दीहरूको सूची पनि युक्रेनलाई दिइएको बताइएको छ । युक्रेनी सुरक्षा सेवाले गत आइतबार ‘स्पाइडर वेब अपरेसन’ अन्तर्गत रूसका चार प्रमुख हवाई बेसहरूमा आक्रमण गरेको दाबी गरेको छ । उनका अनुसार ११७ ड्रोनहरू रूसी भूमिमा गाडीभित्र लुकेर पुर्‍याइएका थिए र दूरदराजबाट चलाइएका थिए । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी कारबाहीले राष्ट्रपति पुटिनलाई ‘बमबारीको कारण दिएको’ टिप्पणी गरेका छन् ।

रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । रूसले युक्रेनको लगभग २० प्रतिशत भूभाग, जसमा (सन् २०१४ मा कब्जा गरिएको क्राइमिया पनि पर्छ) सहित नियन्त्रणमा राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार