Logout

चर्चामा

दार्चुलामा भारतीय तटबन्ध निर्माण रोक्न एमालेको सरकारलाई दबाब

681 Shares

दार्चुला । भारतले दार्चुलाको महाकाली नदी किनारमा निर्माण गरिरहेको तटबन्ध रोक्न नेकपा (एमाले) ले आफ्नै नेतृत्वको सरकारलाई कूटनीतिक पहल गर्न माग गरेको छ। एमाले दार्चुला जिल्ला कमिटीले आज प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाउँदै सो माग राखेको हो।

ज्ञापनपत्रमा भारतले महाकाली नगरपालिकास्थित नेपाली भूमिमा अवैध रूपमा तटबन्ध निर्माण गरिरहेको आरोप लगाइएको छ। स्थानीयवासीको नाममा रहेको जग्गा र सरकारी जमिनसमेत मिचिँदै निर्माण कार्य भइरहेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ।

‘सीमा क्षेत्रमा छिमेकीले बलमिच्याइँपूर्वक संरचना निर्माण गर्दा सरकारले मौनता देखाउनु दुखद्, लज्जास्पद र विडम्बनापूर्ण छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले न्यायप्रेमी दार्चुलावासीको मनमा गहिरो पीडा र चिसोपन पैदा गराएको छ।’

एमालेका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भारतले गल्फैपारी र खुल्लामञ्चपारी क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा उल्लंघन गरेर तटबन्ध निर्माण गरिरहेको उल्लेख छ। स्थानीय सरकार र नागरिक स्तरबाट पटक–पटक आग्रह गर्दा पनि भारतले बेवास्ता गरेको र केन्द्र सरकार मौन बसेको प्रति एमालेले आक्रोश व्यक्त गरेको छ।

महाकाली नियन्त्रण आयोजना खारेज गरेर नदी व्यवस्थापन कार्यालय मात्र स्थापना गरिएको विषयमा पनि एमालेले आपत्ति जनाएको छ। ‘यसले सीमा सुरक्षामा सरकारको गम्भीरता कम भएको सन्देश दिन्छ,’ ज्ञापनमा भनिएको छ।

दार्चुलाका सीडीओ अनिल पौडेलले ज्ञापनपत्र ग्रहण गर्दै भने, ‘निर्माण कार्य रोक्न भारतलाई पत्राचार गरिसकेका छौं, तर हालसम्म कुनै प्रतिक्रिया आएको छैन। अब केन्द्रीय सरकारले नै उच्च तहबाट कूटनीतिक पहल गर्न आवश्यक छ।’

दार्चुलामा सीमा मिचिएको विषय नयाँ होइन। तर, सत्तारूढ दलकै स्थानीय इकाईले आफ्नो सरकारलाई दबाब दिनु सरकारको निष्क्रियताप्रति आन्तरिक असन्तुष्टिको संकेत मानिएको छ। यस विषयमा सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार