Logout

चर्चामा

अस्पतालले मागेजति उपचार खर्च नबुझाउँदा परिवारले ३ दिनदेखि शव पाएनन्

414 Shares

बारा । वीरगन्जको कृष्णा अस्पतालले मागेअनुसारको उपचार खर्च नबुझाउँदा मृतक परिवारले तीन दिनदेखि शव उठाउन पाएका छैनन् । यता मृतकका परिवारको घरमा रुवाबासी रोकिएको छैन । कलैया उपमहानगरपालिका–२ अवधापुरका ५० वर्षीय रणबहादुर राम चमारको शव उनका परिवारले पाउन नसकेका हुन् । शव तीन दिनदेखि नारायणी अस्पतालको शव गृहमा छ । वीरगन्जस्थित कृष्णा अस्पतालमा विष सेवन गरेका रणबहादुरको चैत २८ मा साँझ उपचारकै क्रममा मृत्यु भएपछि उक्त अस्पतालले शव नारायणी अस्पतालको शव गृहमा पठाएको थियो । उक्त अस्पतालमा गत चैत १२ गते रणबहादुरलाई आफन्तले उपचारका लागि भर्ना गरेको थियो ।

उपचारको १७औं दिनमा चैत २८ मा रणबहादुरको मृत्यु भएको मृतकका आफन्त राजनारायण रामले बताए । कृष्णा अस्पताल प्रशासनले साढे तीन लाख उपचार खर्च माग दाबी गर्दै मृत्यु प्रमाणपत्र नदिएपछि तीनदेखि शव उठाउन नपाएको उनले बताए । ‘प्रमाणपत्र दिन र शव उठाउन वीरगन्जको विर्ता वडा प्रहरी कार्यालयमा प्रहरी निरीक्षक निरोज चौलागाईंको रोहबरमा अस्पताल व्यवस्थापकबीच शुक्रबार राति छलफल भएर अस्पताललाई ५० हजार तत्काल दिने र ५० हजार काजक्रियापछि दिने मौखिक सहमति भयो,’ मृतकका आफन्त राजनारायणले भने, ‘तर शनिबार शव उठाउनको लागि मृत्यु प्रमाणपत्र लिन जाँदा अस्पतालले सहमति नमान्ने भन्दै शव उठाउन प्रमाणपत्र दिएको छैन ।’

प्रहरीले दासजाँच मुचुल्का गरिसकेको उनले बताए । अस्पतालले लापरबाही तरिकाले उपचार गर्दा बिरामीको उपचारको १७औं दिनमा मृत्यु भएको आफन्तको दाबी छ । मृतकको दलित परिवार अति विपन्न हुन् । रणबहादुरले विष सेवन गरेपछि आफन्तले कलैया प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । त्यहाँ समान्य उपचारपछि चिकित्सकले नारायणी अस्पताल रिफर गरेपछि अस्पतालकै एम्बुलेन्समा वीरगन्ज जाँदा एम्बुलेन्स चालकले नारायणीमा ठाउँ नभएकाले बिरामीलाई कृष्णा अस्पताल पुर्‍याएको राजनारायणले बताए । अस्पतालको तस्बिर खिच्न गएका मृतकका आफन्त तेजनारायण रामको मोबाइल कृष्णा अस्पताल प्रशासनले खोसेको छ ।

‘उपचारमा लापरबाही र जथाभावी खर्च गरी बिल बनाउँदा बील माग्दासमेत अस्पतालले कहिले नदिने र कहिले पाउँदै नपाएको औषधिको बिल दिएको छ,’ राजनारायणले भने । विर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक चौलागाईंले मृतकका आफन्त र अस्पताल पक्षबीच सहमति गराइ शव उठाउन आफूले समन्वय गरिरहेको बताए । ‘मृतक परिवार भन्छन्–गरिब छौं, त्यति पैसा तिर्न सक्दैनौं, अस्पताल पक्ष भन्छन्– बिना पैसा मान्दैनौं,’ प्रहरी निरीक्षक चौलागाईंले भने, ‘उनीहरुबीचको सहमति गराउँदै छौं ।’ कृष्णा अस्पतालका प्रशासन प्रमुख सुजित लामाले मृतक परिवारले उपचार खर्च दिन नमान्ने र उल्टै प्रहरीमा धाउन थालेपछि विवाद बढेको बताए । ‘३ लाख ४१ हजार खर्च भएको छ । त्यसमा घटाउन सकारात्मक कुरा मृतक परिवारबाट नआएपछि कुरा बिग्रेको हो,’ उनले भने, ‘शव दिन प्रमाणपत्र बनाइदिने सहमतिको लागि प्रयास गर्दैछौं ।’ मृतकका आफन्तले अस्पतालमा आएर खिचेको फोटो डिलिट गराइ मोबाइल फिर्ता गरिदिएको लामाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार