काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत नबने फेरि लकडाउन हुन सक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताउदै ओलीले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न आग्रह गरे ।
नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत रहेको भन्दै उनले सावधानी नअपनाए समस्या आउन सक्ने बताए । उनले भने - सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।
उनले आफुलाई सरकार ढल्छ भन्ने चिन्ता नभएको पनि बताए । सरकार जान्छ कि भन्ने आफुलाई चिन्ता नभएको बताउदै उनले आफूलाई हटाउनेहरू पनि फ्याँकिने बताए ।
उनले भने - मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन। अहिले नै हटाइहाले भने पनि केही छैन। यस्तो अंकगणितलाईलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्
उनले उद्योगीहरूलाई राजनीतिको विषयमा चिन्ता नगर्न र आफ्नो काममा मात्र ध्यान दिन भने ।