काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज (मंगलबार) काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।
राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुनेछ। उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।
जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ ।
कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ । आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक दुवैतर्फ र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँबसपार्क र सितापाईला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।
नेपाल शिक्षक महासंघले माइतीघरदेखि बानेश्वर-माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा समेत आवश्यकता अनुसार डाइभर्सन मिलाएको छ। आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।