Logout

चर्चामा

कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदैन : महेश बस्नेत

926 Shares

काठमाडौं । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् ।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका थिए ।

कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको संख्या देखाएका हुन् । ‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’

संसदको यही संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताए । ‘आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरूलाई हामीले सके सहयोग गरौं नसके बस्तुनिष्ट ढङ्गले त्यसको विरोध गरौं’, नेता बस्नेतले भने ।

गत निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकतर्फ ४१ सिट हो । कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको थियो । संसदमा हाल जनता समाजवादी पार्टीको एकीकरणपछि अहिले ३४ सांसद छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार