काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्नका लागि पीआइडीबाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालनसमेत एससीएडीएमार्फत गर्ने व्यवस्था मिलाइएको योजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
सोही व्यवस्थाअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट एससीएडीए प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालिएको हो । साथै, एससीएडीए प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तीसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाटसमेत लिनसकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । यसैगरी, एससीएडीए प्रणालीमार्फत उपत्यकाका १५ वटै पानीपाखरीमा पानीको धमिलोपना र क्लोरिन, कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था मिलाइएको छ ।
नमूनाका रुपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको खानेपानी कार्यालयले जनाएको छ ।