काठमाडौँ । चीनबाट अनुदानमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरू गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको उपस्थिति खोप कार्यक्रमको सुरुवात भएको हो।
चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप बुधबारदेखि दिन सुरू गरिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी, तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने भएको छ।
त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन भएको मन्त्रालयले जनाएको छ। यसैबीच कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा शिक्षक, विद्यार्थी तथा फ्रन्ट लाइनमा खटिने कर्मचारीलाई खोप दिइएको छ।