Logout

चर्चामा

१७ वर्षीया किशोरीको हत्यापछि लो-बेडभित्र लुकाइयो शव, मोबाइलले खोल्यो पोल

579 Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हराएको भन्दै प्रहरी वृत्त थानकोटमा निवेदन पर्‍यो । २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाइ नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पर्‍यो । चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईं तलाको कोठाभित्र प्रहरीले उनको शव फेला पारेको हो । सरिता सोही घरमा भाडामा बस्ने गरेकी थिइन् । शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढायो । मोबाइल पत्ता लगाएपछि अभियुक्तको पहिचान गर्न सफल भएको परिसरका एक अनुसन्धान अधिकृतले बताए । परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो । त्यसपछि विश्वासले घटनामा आफ्नो संलग्नता स्वीकारेको एक अनुसन्धान अधिकृतले बताए । सरिता र विश्वास नाताभित्रकै व्यक्तिहरूसमेत हुन् । उनलाई कोठाबाटै बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो । उनले हत्या स्वीकार गर्दै सामान्य विवाद हुँदा भवितव्य परेर घटना भएको दाबी गरेका छन् । सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाइएको थियो । आज काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि नैकापमा कक्षा १० मा अध्ययनरत थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार