Logout

चर्चामा

रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीबाट दुईपटक ऋण लिएको भेटियो

1.1k Shares

काठमाडौँ । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई पटक ऋण लिएको भेटिएको छ । 

६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएसँगै रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाउँदा उक्त ऋण लिएको प्रमाण भेटिएको हो ।

यसअघि रवि नै गृहमन्त्री हुँदा छानबिन प्रक्रिया रोकिए पनि अहिले संसदीय छानबिन समितिले नै रविलाई दोषी देखाएपछि फाइल फेरि खुलेको हो । प्रहरी वृत्त कालिमाटीको फाइल जिल्ला प्रहरी परिसरमा झिकाएर छानबिन अगाडि बढाइएको छ । 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । जीबी राई रविका गोर्खा मिडिया प्रालिका साझेदार हुन् । जीबी राई फरार छन् । उनीविरुद्ध इन्टरपोललेसमेत  रेड नोटिस जारी गरेको छ । 

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।

फोर ह्विलर लोन बापत ४६ लाख ९८ हजार लिएको तर ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।

त्यस्तै ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । रविकोसमेत नाम भएका तीन दर्जन थान भौचरसमेत प्रहरीले बरामद गरेको छ । 

स्वार्णलक्ष्मीबाट एक अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो प्रकरणमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।  

रवि लामिछानलाई गत कार्तिक २ गते काठमाडौँमा पक्राउ गरी ३ गते बिहान पोखरा पुर्याइ कास्की प्रहरीको जिम्मा लगाइएको थियो । कास्कीको सहकारी ठगीमा उनलाई कास्कीले समातेको हो । उनलाई समय थपेर कम्तीमा १९ गतेसम्म कास्की प्रहरीको हिरासतमै बस्नुपर्नेछ । 

२० गतेमात्र जिल्ला अदालतमा लगिने छ । रविलाई रुपन्देही जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । रविमाथि बुटवलको सहकारीमा पनि ठगी गरेको उजुरी छ । 

त्यस्तै काठमाडौँ प्रहरीले यसरी गहन रुपले अनुसन्धान गरेसँगै अब काठमाडौँ प्रहरीले पनि पक्राउ पुर्जी जारी गर्ने सम्भावना बढेको छ । 

रवि र उनका साझेदारले पाँच ओटा सहकारीबाट रकम हिनामिना पारेको आरोप छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार