Logout

चर्चामा

को सरकारमा हुन्छ, भन्न सकिँदैनः ओली

594 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन्।

बिहीबारबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताए।

उनले संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको पनि बताए। उनले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे। उनले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको जिकिर गरे।

उनले भने,‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन। यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ। संविधानमा त्यस्तो कुनै व्यवस्था छैन। कानूनमा व्यवस्था छैन, केही व्यवस्था छैन। के सपना देख्छ को मान्छेले भन्न सकिँदैन। राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो कि, त्यस्तै लाग्छ। तर नेकपा एमाले त्यस्ताभित्र पर्ने होइन, एउटा जिम्मेवारी र इतिहास बोकेको, देश बनाउने भिजन बोकेको संस्था हो र नेपाली जनाताले सर्वाधिक मन पराएको संस्था पनि हो।’

यसैबीच एमाले र माओवादीबीच गठबन्धनको अनुमान लागिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् ।

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए ।

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए । पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे । ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार