काठमाडौँ । नेकपा एमालेका झलनाथ-माधव पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो।
एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ।
उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्। एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।
आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो।
खनाल-नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ। यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन्।
बिहीबार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका छन्। शुक्रबारको बैठक बसेर थप रणनीति र अभिया सुरु गर्ने खनाल–नेपाल समूहको योजना छ।
सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्।