Logout

चर्चामा

सिंगापुरमाथि नेपालको शानदार जित

377 Shares

काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको छ ।

सोमबार प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो । 

सिंगापुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेलले ७४ रनको शानदार अर्धशतकीय इनिङ्स खेले ।

उनले ४८ बलमा ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । अर्का ओपनर आसिफ शेखले २७ रन बनाएका थिए ।

कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको बिस्फोटक ब्याटिङ प्रर्दशन गरे । क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्दै कुशल मल्लले खेल समाप्त गरेका थिए । 

सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए ।

यसअघि, कीर्तिपुरको त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

रोहन रंगराजनले ४६ रन बनाउँदै सिंगापुरलाई राम्रो सुरुआत दिलाएका थिए । तल्लो क्रममा आएका आर्याविर चौधरीले ३७ रन बनाए ।

मनप्रीत सिंहले समेत २४ रनको इनिङ्स खेले । अन्यले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि अविनाश बोहोराले ३ तथा करन केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो । नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् । 

समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार