Logout

चर्चामा

साफ यु-१९ च्याम्पियनसिप आजबाट, नेपाल पाकिस्तानसँग भिड्दै

870 Shares

काठमाडौं । यु-१९ साफ च्याम्पियनसिप बिहीबारबाट नेपालमा सुरु हुँदैछ। उमेर समूहको प्रतिष्ठित फुटबल प्रतियोगितामा ६ देशलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको छ।

दुई पटकको च्याम्पियन नेपाल पछिल्लो समय खस्किँदो उमेर समूहमा आफूलाई पुन: बलियो देखाउँदै उपाधि होडमा फर्कने प्रयासमा रहेको छ।

नेपालले समूह ‘ए’ अन्तर्गत माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, समूह ‘बी’ मा भने भारत, बंगलादेश र भुटान रहेका छन्।

प्रतियोगिताको पहिलो खेलमा आज दिउँसो १:३० मा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश भिड्ने छन्। नेपालले भने साँझ ५:३० मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ।

सन् २०१५ मा घरेलु मैदानमा साफ च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्दा सहायक प्रशिक्षक रहेका सुनिल श्रेष्ठ अहिले नेपाली टिमको प्रशिक्षकका रूपमा रहेका छन्। उनले पुरानो लयलाई फर्काउँदै उपाधि जित्ने विश्वास व्यक्त गरे।

यु-१९ को उमेर समूहको पहिलो प्रतियोगिता सन् २०१५ मा नेपालमा नै भएको थियो। पहिलो संस्करणमा भारतलाई टाइब्रेकरमा हराएर च्याम्पियन बनेको नेपालले दुई वर्षपछि भुटानको थिम्पुमा आयोजना भएको प्रतियोगितामा उपाधि रक्षा गरेको थियो।

तर काठमाडौंमा नै भएको तेस्रो संस्करणमा भने नेपाल निरासाजनक रूपमा समूह चरणबाटै बाहिरियो।

यो पटक प्रशिक्षक श्रेष्ठले समूहमा शतप्रतिशत जितसहित विजेताका रूपमा सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताए। त्यस्तै, उनले सबै खेल जित्दै उपाधि जित्ने अभियानमा रहेको पनि बताए।

प्रशिक्षक श्रेष्ठले भने, ‘खेलाडीको तयारी राम्रो छ। साथै हामीलाई घरेलु मैदान र समर्थकको साथ छ। त्यसैले हामी राम्रो नतिजा ल्याउने विश्वासमा छौं।’

उनले सिनियर टोलीसँगको अभ्यास खेलपछि टिम सन्तुलित र बिलियो भएको बताए। उनले राष्ट्रिय टिमसँगको मैत्रीपूर्ण खेलले खेलाडीमा आत्मविश्वास जागेको पनि बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार