Logout

चर्चामा

लुम्बिनीका नेतालाई ओलीको निर्देशन : प्रदेशको नेतृत्वमा आजै सहमति गर्नुस्

844 Shares

बुटवल ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा सहमति जुटाउन नेताहरुलाई निर्देशन दिएका छन् ।

एमाले प्रदेश अधिवेशन उदघाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट शनिबार  साँझसम्म टुङ्ग्याउन निर्देशन दिएका हुन् ।

प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उनले बताए । ‘पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्‍मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस्’ ओलीले निर्देशन दिए ।

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल आकांक्षी छन् । कँडेल वर्तमान अध्यक्षसमेत हुन् । अधिबेशन अन्तर्गत  आइतबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा नेतृत्व दाबी नगर्न निर्देशन दिँदै कसैको आशिर्वादले नभई आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।

‘तपाईंहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ’ ओलीले लुम्बिनीबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार