Logout

चर्चामा

सुन तस्करी प्रकरणमा माओवादी अरूको गालामा बियाँ टाँस्ने धन्दामा : शंकर पोखरेल

644 Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा सत्तामा रहेको माओवादी पक्षधरबाट आफूले काँक्रो खाएर अरूको गालामा बियाँ टाँस्ने धन्दा जारी रहेको बताउनुभएको छ । 

उनीहरूबाट जो सत्तामा छ ऊसँग प्रश्न गर्नु अपराध हो भन्ने भाष्य खडा गर्न खोजिएको पोखरेलले बताउनुभएको छ । ‘के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्ता पक्षीय दृष्टिकोण हो ? १ सय किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ । 

‘बाहिर सुन समातिएका आधारमा एयरपोर्टको सुरक्षा  प्रणाली र भन्सार प्रशासनले उन्मुक्ति पाउँछ र ?’, पोखरेलेको प्रश्न छ । ‘अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ?’

सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकाय यी प्रश्नप्रति जबाफदेही बन्नै पर्ने उहाँको धारणा छ ।  ‘एयरपोर्ट भन्सारबाट १ सय किलोभन्दा बढी सुन बाहिरिएको तथ्य सुराकीले दिएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनाबाट पुष्टि भएको छ, के यसमा एयरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनको मिलेमतो र जानकारी बिना यस्तो कुरा सम्भव हुन्छ ?’, पोखरेलको प्रश्न छ । 

नेपालमा अधिकांश भारतीय उत्पादनका मोटरसाइकल प्रयोगमा रहेको पोखरेलले स्मरण गराउनुभएको छ । ‘मोटर साइकलको उपकरण चाहिँ हङकङबाट त्यो पनि हवाई मार्गबाट पटक पटक आउनुलाई के स्वाभाविक मान्न सकिन्छ ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन ?’, उहाँले प्रश्न गर्नुभएको छ । 

आयातकर्ता कम्पनीको मालिक एकजना दैनिक ज्यालादारीमा काम गर्ने अबोध मजदुर रहेको तथ्यले यो गिरोह कति धूर्त र पहूँचवाला रहेछ भन्ने देखिने उहाँको टिप्पणी छ । ‘यति ठुलो परिमाणमा कारोबार हुने कम्पनीका बारेमा सरकार यसरी बेखबर बस्न मिल्दछ र ? अबोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्ता गर्ने र कारोबार गर्नेहरू को हुन् ? राज्यका निकायले खोज्नु पर्दैन ? सत्य तथ्य बाहिर ल्याउनु पर्दैन ?’ पोखरेलले सरकारलाई प्रश्न गर्नुभएको  । 

कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बिचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठुलो परिमाणमा सुन तस्करी भएको देखिन्छ देखिने पोखरेलको भनाई छ । ‘के अनुसन्धान त्यहाँसम्म पुग्नु  आवश्यक छैन र ?’ भन्ने उहाँको जिज्ञासा छ । 

‘शासकीय जिम्मेवारी र दायित्व भनेको अरूले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा भने टकटकिने चाही होइन होला नि ?’, भन्दै पोखरेलले प्रश्न गर्नुभएको छ । यस अर्थमा एयरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउन आवश्यक रहेको उहाँले टिप्पणी गर्नुभएको छ । 

राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बन्न पोखरेलले आग्रह गर्नुभएको छ । आशंकित सबैलाई छानबिनको दायरामा ल्याउन विलम्ब गर्न नहुने पोखरेलको सुझाव छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार