जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।
नेकपा एमाले सरकारबाट बाहिरिएकै कारण आज मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादव विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै सबै दलसँग मत दिन आग्रहसमेत गरे ।
मुख्यमन्त्रीको प्रस्तावमा सुरु भएको छलफलमा सुरुमै नेकपा एमालेका सांसद दिपेन्द्र ठाकुरले बोल्दै समर्थन गर्ने बताए । उनले भने, ‘विगतमा पनि सहयोग र समर्थन दिएकै थियौं । अहिले फेरी पनि एमालेको तर्फबाट समर्थन दिने निर्णय भएको छ ।’
नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सत्ता समीकरण बदलिएपछि चैत २१ मा सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।
‘राजनीतिक दबाबकै कारण र हाम्रो काम अगाडी नबढेकाले समर्थन फिर्ता लिएको थियौं,’ एमाले सांसद ठाकुरले भने, ‘मुख्यमन्त्रीले अब राम्ररी काम गर्नुहुन्छ भन्ने विश्वासका साथ विश्वासको मत दिन लागेका छौं । उहाँलाई बधाई छ ।’