काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसारमा केही मानिस मात्र देश, जनता र मानव जातिको निम्ति बाँच्ने बनाउनुभएको छ ।
मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विज्ञान प्रविधिको खोज अनुसन्धामा लागेका र इतिहासलाई नै बदलेर नयाँ मोडमा लैजान खोज्ने व्यक्तिहरू आफ्ना लागि मात्र नभएर अरूका लागि बाँच्ने बताउनुभयो । मदन भण्डारी त्यस्तै व्यक्ति मध्ये एक हुनुभएको ओलीले बताउनुभयो ।
आफ्ना महान् सपना बोकेर तिनलाई पूरा गर्न नभ्याउँदै मदन भण्डारी र जीवराज आश्रितको हत्या गरिएको ओलीले बताउनुभयो । ‘नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने मदन भण्डारीको सपना अधुरै छ, उहाँका उत्तराधिकारी तपाईँ हामीले यसलाई पूरा गर्नुपर्छ’, ओलीले भन्नुभयो ।
मदन भण्डारीले देखेको सपना पूरा गर्न त्यति सजिलो नभएको उहाँले बताउनुभयो । तथापि उहाँले देखेको सपना पूरै नहुने खालको भने नभएको उहाँको भनाइ छ ।
मदन भण्डारी र एमालेले देखेको सपना पूरा हुन नदिन विरोधी शक्ति लागेका उहाँले बताउनुभयो । यसका लागि देश बनाउने सपना पूरा गर्न एउटा सङ्कल्पका साथ संगठित भएर लाग्नु पर्नेमा ओलीले जोड दिनुभयो । उहाँहरूले देखेको सपना पूरा गर्ने कर्तव्य अहिलेको राजनीतिक नेतृत्वको काँधमा आएको ओलीले बताउनुभयो ।
उहाँहरूले देख्नु भएको सपना पूरा गर्नको लागि उच्च मनोबलका साथ अघि बढ्नु पर्ने ओलीको निष्कर्ष छ । हामी सक्छौँ, हामी जित्छौँ भन्ने मनोबल बोकेर अघि बढ्नु पर्ने उहाँको भनाइ छ ।
अहिलेको राजनीतिलाई सत्ताधारी गठबन्धनले हल्काफुल्का रूपमा लिनु गम्भीर विषय भएको उहाँले बताउनुभयो । देश गम्भीर परिस्थितिमा हुँदा पनि लामो इतिहास बोकेको नेपाली कांग्रेस भोलि उठी कहाँ जाने परिस्थितिमा रहेको भन्दै उहाँले आलोचना गर्नुभयो । यस्तो अवस्थामा एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
एमाले सत्ता स्वार्थको लागि मात्र मिल्ने कुरा नहुने उहाँले बताउनुभयो । देश, जनता, परिवर्तन र सुशासनको लागि एमाले कुनै पनि शक्तिसँग मिल्न सक्ने ओलीले प्रष्ट पार्नुभयो । अहिलेको गठबन्धन सत्ताको लागि मात्र बनेको सरकारी गठबन्धन भएको उहाँले दाबी गर्नुभयो ।
अहिलेको सरकार राजनीति अस्थिरता र अराजकतामा अल्झिएको उहाँले बताउनुभयो । सरकार सर्पको मुखमा परेको भ्यागुतो जस्तो भएको उहाँको भनाइ छ । सरकार संकट नै संकटले घेरिएको अवस्थामा रहेको ओलीले बताउनुभयो ।
देशको आर्थिक, सामाजिक अवस्था बिग्रिएको र भत्किएको उहाँको भनाइ छ । समाज बिथोलिएको स्थितिमा रहेको उहाँले टिप्पणी गर्नुभयो । बिथोलिएको समाजलाई कसरी सही बाटोमा ल्याउने भन्नेमा सरकारको कुनै ध्यान नगएको ओलीले बताउनुभयो ।
यस विशेष परिस्थितिको सामना गर्न एमाले मदन भण्डारीले लिनु भएको उद्देश्य र जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष ओली लगायतका नेताले भण्डारीको सालिकमा माल्यार्पण गर्नु भएको तियो ।
.jpg)

