मेरो हृदयलाई चलाउन
तिम्रो नामको ढुकढुकी देऊ
प्रफुल्ल भई मारूनी नाच्न
तिम्रो नामको फुकी देऊ
जीवन गन्तव्यमा दोहोर्याउन
तिम्रो नामको सडक देऊ
आफूलाई पृथक देखाउन
तिम्रो नामको भडक देऊ
हरक्षण उल्लास फिँजाउन
तिम्रो नामको उमङ्ग देऊ
तनमनलाई होली खेलाउन
तिम्रो नामको रङ्ग देऊ
मेरो अन्तर्मन सजाउन
तिम्रो नामको इन्द्रेणी देऊ
शिरलाई उचो ठड्याउन
तिम्रो नामको श्रेणी देऊ
फोक्सो जीवन्त तुल्याउन
तिम्रो नामको श्वास देऊ
डाँडा पाखामा मौलाउन
तिम्रो नामको गुराँस देऊ
प्रगतिपथमा लम्कन
तिम्रो नामको जीत देऊ
जीवनमय गीत गुनगुनाउन
तिम्रो नामको सङ्गीत देऊ
दान दण्ड भेद पछ्याउन
तिम्रो नामको साम देऊ
स्वप्नलाई सोपान चढाउन
तिम्रो नामको आयाम देऊ
यथार्थ दर्शन गराउन
तिम्रो नामको दर्पण देऊ
दुःखका बोझ उठाउन
तिम्रो नामको खर्पन देऊ
छिपेको अधर्म हटाउन
तिम्रो नामको मन्दिर देऊ
जीवन अनुशासित राख्न
तिम्रो नामको जन्जिर देऊ
मलाई आफ्नो बनाउन
तिम्रो नामको बन्धकी देऊ
यो जिन्दगी अगाडि बढाउन
तिम्रो नामको जिन्दगी देऊ